भुवन केसीले भने- मेरो चरित्रहत्या गर्न खाेजियाे

Posted:-2015-06-26 00:00:00

भुवन केसीले भने- मेरो चरित्रहत्या गर्न खाेजियाे


असार १० - हुन त भुवन केसी धेरै स्कन्याडलमा बारम्बार मुछिरहन्छन् । तर यस पटकको स्कन्याडले भने उनलाई मानसिक तनावमा पारेको छ ।

पहिलो पटक निर्देशनमा उत्रिएका भुवनलाई यही फिल्मले तनाव दियो । ‘ड्रिम्स’ नामक यो फिल्मको सुटिङमा पोखरा आएका उनले सुटिङ युनिट बसेको होटलको पैसा नतिरेको तथा उनका गाडी र सामाग्री होटलले जफत गरेको भन्ने समाचार आएको थियो । बिहीबार पोखरामा पत्रकार सम्मेलन गर्दै उनले यो समाचारको खण्डन गरे ।

पोखराको ड्यामसाइडस्थित पिसफुल होटलमा बसेको बिल नतिरेको भन्ने समाचार गतल रहेको उनले बताए । ‘करोड लगानी गरेर सिनेमा बनाइरहेको छु,’ पत्रकार सम्मेलननमा उनले भने, ‘बाहिर आएका सबै कुरा झूटा हुन, मेरो चरित्र हत्या गर्न यस्ता हल्ला फैलाइएका हुन् । म होटल छाडेर कतै गको छैन, यत्तिकै समाचारको मसला बनाइयो ।’

‘यो भुवन केसीको मात्र नभई समग्र नेपाली सिने उद्योगको चरित्र हत्याको प्रयास हो,’ उनले भने, ‘होटलको तर्फबाट संचालिका बिन्देश्वरी श्रेष्ठले समेत विज्ञप्ती मार्फत् यो समाचार भ्रामक भएको बताइसकेकी छन् ।’ होटल संचालकले जारी गरेको विज्ञप्तीमा ‘ड्रिम्स युनिटले तिर्नुपर्ने रकम तिरेको र समाचारमा आएको जस्तो होटलमा ताल्चा लगाएर थुनिएको सरासर गलत हो’ भनिएको छ ।

यो पनि पढ्नुहोस्