पतिले अप्राकृतिक मैथुन गर्न बाध्य पारे : संगीता गुप्ता

Posted:-2015-06-28 01:24:36

मेरा पतिले अप्राकृतिक मैथुन गर्न बाध्य पारे : संगीता गुप्ता

नोकरसँग सुत्न दबाब दिए


असार ३ गते रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन गर्न आउँदा संगीता गुप्ता निकै डराएको र हडबडाएको मुद्रामा थिइन् । उनी घरिघरि ढोका बाहिर हेर्थिन् । नेपाली भाषा राम्रोसँग बोल्न र बुझ्न नसक्ने संगीताले हिन्दीमै आफूमाथिको अन्याय अत्याचारका श्रृंखला सुनाइन् । पूर्व कानून मन्त्री एवं वर्तमान संविधानसभाका सदस्य बृजेशकुमार गुप्ताले भने अनुसारको दाईजो नल्याएको भन्दै आफूमाथि निरन्तर हिंसा र यातना दिएको संगीताको भनाइ थियो ।

तराई मधेश लोकतान्त्रिक पार्टीका महासचिव समेत रहेका संसदीय दलका उपनेता गुप्ताले संगीतालाई मार्न व्यवसायिक किलरहरूलाई प्रयोग गरेको उनको भनाइ छ । प्रस्तुत छ, तिनै संगीतासंग गरिएको कुराकानीका सम्पादित अंश :-

Sangita-Gupta

० आफ्नै पति विरुद्ध किन सार्वजनिक रुपमै उत्रिनु भएको हो ?
वास्तवमा मैले धेरै वर्षसम्म अन्याय, अत्याचार र यातना सहेँ । उहाँको (पति बृजेश गुप्ता)को सामाजिक र राजनीतिक प्रतिष्ठामा कुनै आँच नआओस् भनेरै मैले चुपचाप अन्याय सहें । तर, जति अन्याय सहँदै गएँ उतिनै ममाथिको यातना, दुव्र्यवहार र अन्याय बढ्दै गयो । मिलेर बस्नका लागि धेरै प्रयास पनि गरें । कानूनी कारवाहीका लागि प्रहरी प्रशासनमा निवेदन पनि दिएँ । तर, उहाँले आफ्नो पद र शक्तिको पहुँच प्रयोग गर्दै मलाई कतै पनि न्याय पाउने अवस्था दिनु भएन । मेरो उजुरी समेत दर्ता भएन । कहीँबाट केही उपाय नलागेपछि बाध्य भएर मैले पत्रकार गुहार्नु परेको हो ।

 महिला हिंसा सम्बन्धी उजुरी त प्रहरीले जसरी पनि लिनु पर्छ नि, किन तपाईको उजुरी दर्ता भएन ?
मैले कपिलबस्तुको इलाका र जिल्ला प्रहरी सबैतिर उजुरी दिन खोजें तर दर्ता भएन । जिल्ला प्रशासन कार्यालयमा पनि मेरो कुरा सुनुवाई भएन । मेरो पीडा सुन्न सरकारका मान्छेहरू कोही तयार भएनन् । मैले तराई मधेश लोकतान्त्रिक पार्टीका नेताहरूलाई पनि ममाथि भएको यातनाको बारेमा सुनाएको हो, तर उहाँहरूले त उल्टै मलाई आरोप लगाउनुभयो । यी मधेशवादी पार्टीहरू सामन्तहरूका पार्टी हुन् । यी पार्टीका नेताहरूका घरमा महिलामाथि घरेलु हिंसामात्र होइन चरम रुपका यौन दुव्र्यवहार पनि हुन्छन् ।

मलाई उनले अप्राकृतिक मैथुन गर्न पनि बाध्य पारे । एक प्रकारले भन्ने हो भने मलाई उनले पटक पटक बलात्कार पनि गरे । यसक्रममा दुई पटक गर्भपतन समेत भयो

० तपाईमाथि के कस्तो खालको हिंसा गरे गुप्ताले ?
विहे गरेर आए लगत्तैदेखि दाइजोको निहुँमा सताउन थाले । उनले स्कोर्पियो गाडी मागेका थिए । दाइजोमा स्कोर्पियो गाडी नदिएको भन्दै हिंसा गर्न थाले । यो देशको कानून मन्त्री भइसकेको मान्छे, मैले उनीसंग धेरैपटक अनुनय गरें ।

यस्तो नगर्नुस्, तपाई त समाजको प्रतिष्ठित मान्छे हो, अरुलाई दाइजो नलिन आग्रह गर्नुपर्नेमा तपाई आफैं ममाथि यस्तो किन गर्नुहुन्छ भनें । तर उनले ममाथि धेरै ज्यादति गरे । मलाई उनले अप्राकृतिक मैथुन गर्न पनि बाध्य पारे । एक प्रकारले भन्ने हो भने मलाई उनले पटक पटक बलात्कार पनि गरे । यसक्रममा दुई पटक गर्भपतन समेत भयो । मैले जति यातना यो बीचमा भोगें, त्यो भनेर साध्य छैन । तर, पनि मैले मेरो घर–परिवार बिग्रिन नदिन धेरै प्रयास गरें ।

 तपाईहरूको विहे भएको त निकै वर्ष भइसक्यो होला, अहिलेसम्म किन चुपचाप रहनुभयो त ?
हाम्रो बीचमा विहे भएको सात वर्ष पुग्यो । मेरो माइती भारतमा हो । म नेपाली कमैमात्र बुझ्छु, बोल्न पनि गाह्रो पर्छ । मैले मेरो पीडा सुनाउने ठाउँ पनि पाइँन । घर पक्षका सबैले दाइजोका लागि मलाई नै यातना दिने, सताउने र दुव्र्यववहार गर्ने गरे । विहे लगत्तैदेखि उनीहरूले स्कोर्पियो गाडी मागेका थिए । ममाथि लगातार कुटपिट भयो । दुई पटक गर्भपतन भयो । पेटको बच्चा जोगाउन मैले धेरै प्रयास गरें तर सकिन । न्यायका लागि धेरै ठाउँमा गएँ । महिला आयोगमा समेत गएँ तर त्यहाँबाट पनि न्याय नपाएर बाध्य भएपछि पत्रकार सम्मेलनमार्फत मेरो कुरा बाहिर ल्याउनु परेको हो ।

दुई पटक गर्भपतन भयो । पेटको बच्चा जोगाउन मैले धेरै प्रयास गरें तर सकिन । न्यायका लागि धेरै ठाउँमा गएँ ।

 अहिले तपाई कसरी न्यायको लडाई लड्दै हुनुहुन्छ त ?
मलाई चार महिनाअघि बृजेश गुप्ताले घरबाट निकाले । उनले छोडपत्र नदिए मार्छु भने । मारेर तँलाई गायब बनाइदिन्छु, यो देशमा मलाई जेल हाल्न कसैले सक्दैन भने । मलाई धेरै डर लाग्यो । त्यसपछि मैले मेरो दाइ र भाइलाई यो कुरा सुनाएँ । उनीहरूले मलाई छोडपत्र दिन्छु भनेर माइती आऊ भने । मैले पनि मलाई मार्ने भएपछि छोडपत्र दिन्छु, तर एकपटक माइती जान्छु भनें । मलाई अब घर आउन पाउदिनस्, आइस् भने तँलाई मार्छु भनेका छन् । बाहिर बाहिरै बसिरहेकी छु । उनले मलाई मार्न मान्छे खटाएको भन्ने सुनेकी छु ।

० तपाई अब कसरी अघि बढ्नुहुन्छ त ?
मेरो लागि नेपालमा न्याय पाउन निकै गाह्रो छ तर पनि यहाँका पत्रकार र धेरै मान्छेले मेरो पीडा बुझेर सहयोग गरेका छन् । मलाई त उनीहरूले मार्न खोजेका छन् । मलाई पतित बनाउनका लागि बृजेष गुप्ताले घरमा काम गर्ने नोकर लगाएर बलात्कार गराउन पनि खोजे । नोकरबाट पटक पटक दुव्र्यवहार गराएर मलाई चरित्रहीन देखाउन उनले खोजे । राति राति नोकरसंग सुत्न दबाब दिए । तर, मैले नमान्दा ममाथि कुटपिट गरे । हिन्दी फिल्ममा तपाईहरूले एउटा भिलेनले जे गरेको देख्नुहुन्छ, बृजेष गुप्ताले ममाथि त्यही गरेका छन् । अब म उनको चरित्र भण्डाफोर गर्छु र न्यायको लागि लड्छु ।

 यत्रो वर्ष अन्याय सहनु भएछ तर अहिलेसम्म किन कुनै कारवाही हुन सकेन ?
मैले अघिनै भनिसकें, जानुपर्ने ठाउँ जति सबैतिर गएँ । ममाथि भएको अन्यायका बारेमा जानकारी गराएँ । महिला आयोगले एक दुई पटक उनलाई बोलाएको हो । तर, मेरा पति त्यहाँ जानै चाहेनन् । उल्टै मलाई अब त बाँच्दिनस् भनेर धम्की दिए । अहिले पनि तत्काल छोडपत्रको कागजमा सही गरेर ल्याइनस् भने गाडीले किचेर मारिदिन्छु भन्छन् ।

यो देशमा मलाई कसैले छुन सक्दैन भन्छन् । के यो देशमा कानूनभन्दामाथि नेता हुन्छन् ? मेरो यो प्रश्नको जवाफ अहिलेसम्म कसैले दिएको छैन । म अन्याय विरुद्ध लड्न भनेरै काठमाडौंमा आएकी छु । अब मलाई सबै नेपाली जनताले साथ दिनुहोस् भन्ने आग्रह छ । म एउटी पतिव्रता हिन्दू नारी हुँ । मेरो श्रीमान बाहेक अरुसंग कुनै प्रकारको सम्बन्ध राखेकी छैन । तर, मलाई जबर्जस्ती मेरो श्रीमान र उनका परिवारले अरु मान्छे लगाएर बलात्कार गराउने प्रयास समेत गरेका छन् । यो कुरा अब म बाध्य भएर भण्डाफोर गर्छु र उनीहरूको सक्कली अनुहार बाहिर ल्याउछु ।

-साँघु साप्ताहिक


यो पनि पढ्नुहोस्